तनहुँको छिम्केश्वरीमा पर्यटकको आकर्षण बढ्दै

0

सागर गिरी, असोज १०, डुम्रेबजार तनहुँ ।

पारिवारिक वातावरणमा बसोवास, पर्यटकीय क्षेत्रको घुमफिर र स्थानीय कला, संस्कृति र रीतिरिवाजको अनुभूति दिलाउन तनहुँ जिल्लाको छिम्केश्वरी गाविसको वडा न.७ लाब्दीमा घरबास (होमस्टे) सुरु गरिएपछि त्यहाँको पर्यटन प्रवद्र्धनमा टेवा पुगेको छ । आन्तरिक तथा बाह्य पर्यटकलाई घरबास अवधारणाले आकर्षित गरेको छ । तनहुँको आँबुखरैेनी बाट छिम्केश्वरी यात्राका लागी गुरुङ समुदायको बाहुल्यता रहेको लाब्दी गाउँ सम्मको सडक केही बर्ष अघि ट्रयाक खनिएपनि हाल ग्राभिल सडक जोडिएपछि छिम्केश्वरीमा पर्यटकको सङ्ख्या मा बृद्धि भएको छिम्केश्वरी पर्यटन बिकाश क्षेत्र समितिका अध्यक्ष देबीलाल गुरुङले बताउनुभयो ।

समुन्द्री सतहबाट करिव २३३५ मिटर उचाइमा रहेको जिल्ला को सबैभन्दा उच्च भुभाग, महाभारत श्रृङखला मध्य को एक अग्लो चुचुरो छिम्केश्वरी बिभिन्न भौगालीक बिकट र सरोकारवालाको ध्यान नपुग्दा ओजेलमा परेको थियो । बिभिन्न निकायले सहयोग गरेमा छिम्केश्वरी होमस्टे देशकै नमुना बन्ने र आन्तरिक र बाह्य पर्यटकको लागी नेपालकै मध्यभागमा रहेको उच्च स्थान अनि राजमार्ग बाटै नजिकैको आकर्षक गन्तब्य बन्ने छिम्केश्वरी पर्यटन बिकाशका अध्यक्ष गुरुङ दाबी गर्नु हुन्छ । पछिल्लो बर्ष यत्ता सहरी बिकास मन्त्रालय द्धारा छुट्टाइएको ५ लाख बजेटले छिम्केश्वरी मन्दिर परिसरको लागी रेलिङ तथा पर्यटकको लागी बाटोमा ३ ओटा प्रतिक्षालय निमार्ण भइसकेको छ । यस्तै नागरिक उड्यान तथा पयर्टनको बजेटले छिम्केश्वरी पर्यटन क्षेत्र बिकास समितिको भवन र कम्पाउण्ड पनि निमार्ण भइसकेको छ । जिल्लाको सबैभन्दा उचाइमा रहेको गाउँमा बिजुली बत्ती समेत पुगेपछि स्थानिय बासी अझै उत्साहित भएका छन् ।

छिम्केश्वरी को लाब्दी मा हाल ६ घरमा होमस्टे संचालनमा रहेका छन् । प्रत्येक घरमा पाहुनाको लागी २-३ ओटा कोठा छुट्याइएको छ भने स्थानिय आफैले प्रत्येक घरमा २ ओटा पक्की शौचालय पनि निमार्ण गरेका छन् । हिउँदको समयमा दैनिक ४०-५० जना पर्यटक जाने गरेको होमस्टे संचालकहरु बताउँछन् । बिशेष गरी नयाँ बर्ष र फागु पर्णिमामा को समयमा पुजा तथा मेला नै लाग्ने हुँदा २-३ दिनको समय लिएर तनहुँ लमजुङ गोरखा चितवन काठमाडौ पोखरा लगायतका ठाउँबाट करिव ३००० को सङ्ख्यामा आन्तरिक तथा बाह्य पर्यटक जाने गरेको छिम्केश्वरी पर्यटन बिकाश का अध्यक्ष गुरुङ बताउनुहुन्छ ।

स्थानिय उत्पादन बाट बनेका परिकार, लाब्दी र हिलेखर्कमा गुरुङ्ग समुदायको संस्कृति, भाँगेमा मगर र अकलाङ्गमा भुजेल समुदायको सांस्कृतिक ग्रामहरुको अनुभव, महाभारत पहाडहरु मध्येको एक उच्च पहाड तनहुँको सवैभन्दा अग्लो चुचुरा छिम्केश्वरी बाट सफा मौसमा सम्भवत सबैभन्दा लामो श्रृङखला धवलागिरी देखी लाङ्गटाङ्ग सम्मको हिमाली श्रृङ्गखलाको मनोरम दृष्य अबलोकन, काठमाडौंको थानकोट लगायत भरतपुर, नारायणगढ, गैडाकोट साथै गोरखा, आँबुखैरेनी, डुम्रेबजार, बन्दिपुर, पालुङटारअनि मुग्लिन बजारको साथमा त्रिशुली, नारायणी,मस्र्याङदी, दरौदी, चेपे, अनि मादी नदी बहेको स्थान पनि अबलोकन गर्न सकिन्छ ।

त्यहाँ स्थित छिम्केश्वरीमाई र बुढीदेवीमाईको दर्शन तथा जैविक विविधताले भरिपुर्ण छिम्केश्वरी वन क्षेत्र यस यात्राका आकर्षणहरु हुन् । सात देवीहरु मध्ये जेठी बुढीकन्या माई र माहिली छिम्केश्वरी माई छिम्केश्वरी कोटमै अवस्थित छन् भने साहिली गोरख कालिका माई, काहिली मनकामना माई, अन्तरी इच्छाकामना माई, जन्तरी अन्नपूर्ण् माई र कान्छी अकला माईलाई सोहि स्थलबाट दृष्यावलोकन सहित दर्शन गर्न सकिन्छ ।

आँबुखैरेनी देखी १८ किलोमिटर ग्राभिल सडक मार्फत १ घण्टा ३० मिनेटको मोटर यात्रामा लाब्दी गाउँको होमस्टे पुग्न सकिन्छ । लाब्दी बाट १ घण्टा को पैदल यात्रापछि तनहुँको सबैभन्दा अग्लो चुचुरो छिम्केश्वरी पुगी भ्रमणको भरपुर मनोरञ्जन लिन सकिन्छ ।

Leave A Reply